प्रशासनिक फेरबदल : पर्सामा भोला दाहाल नयाँ प्रमुख जिल्ला अधिकारी
वीरगञ्ज, पर्सा ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको व्यापक सरुवा गरेको छ। सोही निर्णय अनुसार पर्सा जिल्लाका प्रजिअ तोय नारायण सुवेदीको सरुवा अर्घाखाँचीमा गरिएको छ। सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको जम्मा दुई महिनामै बदली भएका हुन्।
सुवेदीको कार्यकाल छोटो रहे पनि उनले पर्सा जिल्लामा प्रशासनिक संयोजन, सीमा व्यवस्थापन र स्थानीय निकायबीच सहकार्यमा उल्लेखनीय पहल गरेका थिए। तर, उनको आकस्मिक सरुवाले जिल्लामा चर्चा र प्रश्नहरू पनि उब्जिएका छन्।
गृह मन्त्रालयले सुवेदीको स्थानमा दोलखाका प्रजिअ भोला दाहाललाई पर्सा पठाएको छ। दाहाल अब पर्सा प्रशासनको नेतृत्व सम्हाल्नेछन्। मन्त्रालय स्रोतका अनुसार यो सरुवा नियमित प्रशासनिक समायोजनसँगै केही जिल्लामा देखिएका चुनौतीहरू सम्बोधन गर्ने उद्देश्यले गरिएको हो।
यस्तै, बाराका प्रजिअ प्रकाश पौडेललाई भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन गर्ने विशेष जिम्मेवारीसहित मन्त्रालयभित्र सरुवा गरिएको छ। उनको स्थानमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र बारामा आएका छन्।
त्यसैगरी, सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठ गोरखा सरुवा भएका छन् भने गोरखाका रामु राज कँडरिया सर्लाही आएका छन्। सिरहाका प्रजिअ बसन्त अधिकारी मकवानपुर गएका छन् र बर्दियाका सुरेन्द्र पौड्याल सिरहामा जिम्मेवारी सम्हाल्नेछन्।
महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसाल दोलखा सरुवा भएका छन्, जहाँबाट मोरङका प्रजिअ इन्द्रदेव यादव महोत्तरी आएका छन्। धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवका रूपमा गृह मन्त्रालय गएका छन् भने उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको जिम्मेवारी पाएका छन्।
यसैगरी, रौतहटका प्रजिअ बिनोद कुमार खड्का धनकुटा सरुवा भएका छन् र उनको ठाउँमा सिन्धुलीका दिनेश सागर भुसाल रौतहट आएका छन्।
गृह मन्त्रालयले गरेको यो व्यापक सरुवालाई प्रशासनिक सक्रियता र जिम्मेवारी सन्तुलनका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।