प्रहरी जवान युवराज घिमिरेको हत्याको घटना संलग्नमा ७ जना आरोपी पक्राउ

340

जेठ ६, वीरगञ्ज । जिल्ला प्रहरी परिसर काठमाडौँले तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरेको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर टेकुले आइतबार पत्रकार सम्मेलन गरेर ७ जनालाई सार्वजनिक गरेको हो । दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान घिमिरेको हत्या भएको अवस्थामा शुक्रबार हरियोचौरको निर्माणधीन दुइतले घरमा शव भेटिएको थियो। घिमिरेको हत्यामा संलग्न उनीहरूलाई भाग्न लागेको अवस्थामा अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।

प्रमुख रजौरेका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– १ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।

त्यस्तै नुवाकोटको तानी गाउँपालिका–४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेको उहाँले बताउनुभयो । उनीहरू सबैजना बालाजु, जरंखु, मनमैजु लगायतका स्थानहरूका निर्माणाधीन घरहरूलाई आश्रय बनाएर बस्ने गरेको उहाँले बताउनुभयो ।

प्रमुख रजौरेका अनुसार प्रहरी जवान घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान एक होटलमा पसेका थिए । सोही क्रममा पक्राउ परेका अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खादा घिमिरेले अन्जलीलाई जिस्काएपछि उनीहरूबीच विवाद सुरु भएको देखिएको प्रहरीको भनाइ ।

त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर हरियोचौरसम्म पु¥याइदिन घिमिरेलाई अनुरोध गरेपछि उनीहरू एउटै मोटरसाइकलमा गएका थिए । रजौरेका अनुसार त्यहाँ सचिनका समूहका अन्य व्यक्तिहरू पहिल्यैदेखि बसेका थिए। त्यहाँ पु¥याइएपछि कुटपिट गरी घिमिरेको हत्या गरेको खुलेको प्रहरी प्रमुख रजौरेले जानकारी दिनुभयो ।

प्रहरी जवान घिमिरेसँग भएको पैसा लगेको हुनाले लुटपाट पनि हुन सक्ने उहाँको अनुमान छ । सचिन र अमृत यसअघि चोरी घटनामा मुद्दा परेको जनाइएको छ । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रमुख रजौरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.