प्राकृतिक विपत्तिले पाकिस्तानमा ३४० को मृत्यु

41

वीरगञ्ज । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३ सय ४० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो । जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पाकिस्तान अधीनस्थ जम्मु–कश्मीरमा ११ जना र गिलगित–बालिस्टान क्षेत्रमा १२ जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।

उद्धारमा २ हजारभन्दा बढी मानिस खटिएका छन् । उद्धार जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न पठाएको छ ।

सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाले घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।

यसैबिच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबी कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् । पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारले शनिवार देशव्यापी शोकको घोषणा गरेको छ भने राष्ट्रिय झन्डा आधा झुकाइएको छ । मृतकलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने पाकिस्तान सरकारले जनाएको छ ।

जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म पाँच सय भन्दा बढीको ज्यान लिइसकेको छ ।

Leave A Reply

Your email address will not be published.