प्रेस सेन्टर पर्साको बैठक सम्पन्न, स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रम गर्ने

90

वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगञ्जमा प्रभातफेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनात्मक गतिविधि, पत्रकारिता क्षेत्रको भूमिका तथा आगामी कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। बैठकमा बोल्दै प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति, नियम र उद्देश्यबारे प्रष्ट पार्दै अनुशासित र जिम्मेवार पत्रकारितामा जोड दिए।

त्यस्तै, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पत्रकारहरूलाई आग्रह गरे। उनले निष्पक्ष, मर्यादित र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गरे।

बैठकमा प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दीपक गौतम, जगत राई लगायत प्रेस सेन्टर पर्साका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकको सञ्चालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए।

Leave A Reply

Your email address will not be published.