वीरगंज, २१ जेठ । बंगलादेशमा जारी बंगबन्धु कबडडी कप २०२४ मा केन्यालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतवार ढाकामा भएको दोस्रो सेमिफाइनलमा समूह बीको विजेता केन्यालाई हराउँदै नेपाल बंगबन्धु कबडडी कप–२०२४ को फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समय ५०–५० को बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा नेपालले शारीरिक रूपमा बलियो केन्यामाथि ९–५ को जित निकाल्दै नेपाल उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको हो । नेपाल पहिलोपटक बंगबन्धु कबडडीको फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ४० मिनेटको अन्तिम समयसम्म नेपाल एक अङ्कले पछि थियो । तर, कप्तान घनश्याम रोका मगरले अन्तिम मिनेटमा बोनस प्वाइट निकाल्न सफल भएपछि खेल ५०–५० अङ्कमा बराबर भएको हो । टाइब्रेकरमा नेपालले नौ अङ्क जोड्दा केन्याले पाँच अङ्कमात्र जोडेपछि नेपाल ५९–५५ ले विजयी भएको हो । केन्या सन् २०२१ र २०२२ संस्करणको उपविजेतासमेत हो ।
नेपालका कप्तान रोकामगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । घनश्याम नेपालले खेलेको ६ खेलमध्ये पाँचौँ खेलमा ‘म्यान अफ दी म्याच’ चुनिएका हुन् । बंगबन्धु कप कबडडीकै इतिहासमा टाइब्रेकरसम्म पुगेको यो पहिलो खेल समेत हो ।
बंगबन्धु कबडडी कप २०२४ मा वीरगंज महानगरपालिका वडा नं। १५ लक्ष्मणवा निवासी ज्ञानचन राउत अहिर ९तुलसी० का १८ वर्षीय छोरा सागर यादव पनि सहभागी भएका छन् ।
सागरले शुरुमा मलेशियासंग, दोस्रो पोल्यान्डसंग, तेस्रो खेल दक्षिण कोरियासंग, पांचौं खेल बंगलादेश र आज छैटौं केन्यासंग खेलेको उनका दाजु शिवशंकर यादवले जानकारी गराएका छन् ।