बलात्कारपछि हत्या गरिएका इनिशा विकप्रति वीरगन्जमा श्रद्धाञ्जली सहित प्रदर्शन
वीरगन्ज, ३० फागुन। वीरगन्ज मा सुर्खेतकी किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिएको छ।
वीरगन्ज स्कुल अफ ल मा कानुन संकायमा अध्ययनरत युवा–युवतीहरूले साँझ घण्टाघर चोक मा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘इनिशाका बलात्कारी तथा हत्यारालाई कारबाही गर’, ‘बलात्कारी र हत्यारालाई फाँसी दे’, ‘देशका छोरीहरू एक होऔँ, बलात्कारीविरुद्ध अभियान चलाऔँ’, ‘नेपाली चेली कहिलेसम्म बलात्कृत हुने?’ र ‘नारीको सम्मान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनपछि सहभागीहरूले घण्टाघर चोकमै मैनबत्ती बालेर मृतक इनिशा विकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रदर्शनमा सहभागी सोही कलेजकी छात्रा एलिना पटेलले यसअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त ले अहिलेसम्म न्याय नपाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन्। उनले सरकार, प्रहरी प्रशासन र कानुनी व्यवस्थाको कमजोरीका कारण यस्ता घटना दोहोरिइरहेको बताइन्।
पटेलले भनिन्, “अब जेनजीको चाहनाअनुसार नयाँ सरकार बन्दैछ, प्रधानमन्त्री बालेन शाह दाइ बन्दैछन्। म बालेन शाह दाइसँग अनुरोध गर्छु कि बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाइदिनुहोस्।”
उनले कानुनमा बलात्कारीलाई फाँसी वा मृत्युदण्डको व्यवस्था नभएकै कारण अपराधीहरूको मनोबल बढ्दै गएको पनि दाबी गरिन्।
प्रदर्शनमा सहभागी चन्द्रिका प्रसाद पटेल ले निर्मला पन्त र इनिशा विकजस्ता घटनाले देशका छोरीचेलीहरू “हामी कहिलेसम्म बलात्कृत भइरहने?” भन्ने प्रश्न गर्न बाध्य भएको बताए। उनले दोषीलाई कडा कारबाहीको माग गर्दै युवायुवतीहरू सडकमा उत्रिएको र आफूहरू पनि ऐक्यबद्धता जनाउन सहभागी भएको बताए।
सुर्खेतको वीरेन्द्रनगर स्थित सामुदायिक वन क्षेत्रमा इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा बलात्कारको आशंका गरिएपछि पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख भएपछि घटना थप गम्भीर बनेको छ।
उक्त घटनाको विरोधमा हाल देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन्।