बहुदरमाइ–१ मा अवैध गाँजा खेती नष्ट, करिब एक हजार बोट उखेलेर ध्वस्त
पर्सा, पुस ८ | आनन्द पटेल
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नं. १ मा अवैध रूपमा गरिएको गाँजा खेतीमाथि प्रहरीले कडा कारबाही गरेको छ।
मिति २०८२ साल पुस ८ गते इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब १.५ कट्ठा क्षेत्रफलमा लुकिछिपी गरिएको गाँजा खेती नष्ट गरेको हो। सो कारबाहीका क्रममा करिब एक हजार वटा गाँजाका बोट उखेलेर पूर्ण रूपमा ध्वस्त पारिएको प्रहरीले जनाएको छ।

स्थानीय स्रोतबाट प्राप्त सूचनाको आधारमा गरिएको विशेष कारबाहीमा गाँजा खेती अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। त्यसपछि अवैध रूपमा रोपिएका गाँजाका बोटहरू उखेलेर नष्ट गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक पौडेलले लागूऔषधजन्य पदार्थको अवैध उत्पादन, ओसारपसार तथा कारोबार समाज र विशेषगरी युवापुस्ताका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो।
प्रहरीले आगामी दिनमा पनि अवैध गाँजा खेती तथा लागूऔषधसम्बन्धी कुनै पनि गतिविधि भए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, यस्ता गैरकानुनी कार्यबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा सूचित गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको छ।
यस कारबाहीले पर्सा जिल्लामा लागूऔषध नियन्त्रणका लागि सुरक्षा निकाय थप सक्रिय र प्रतिबद्ध रहेको सन्देश दिएको छ।