बारामा अवैध कारोबारमाथि प्रहरीको कडाइ, लाखौँको सामान बरामद

49

बारामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत करिब ४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। विभिन्न चेकजाँच तथा गस्तीका क्रममा सशस्त्र प्रहरीले सीमा नाकाको अलग–अलग स्थानबाट अवैध सामान नियन्त्रणमा लिएको हो। पहिलो घटनामा, पचरौता नगरपालिका–२ श्रीनगर वैरिया गाउँ नजिकै खटिएको गस्ती टोलीले मोटरसाइकलसहित करिब २ लाख ४५ हजार रुपैयाँ बराबरको चिनी र सरसामान बरामद गरेको छ।

त्यसपछि, सिम्रौनगढ नगरपालिका–६ अमरपुर सीमाक्षेत्रमा खटिएको टोलीले ७४ हजार रुपैयाँभन्दा बढी मूल्यका कुर्ता, गम्छा र साडी नियन्त्रणमा लिएको छ। यस्तै, बिश्रामपुर गाउँपालिका–१ बटमचोक नजिकै गरिएको गस्तीमा ५१ हजार रुपैयाँ मूल्यका मोबाइल पार्ट्स बरामद गरिएको छ भने कलैया–५ दुर्गा स्कुल नजिकैबाट ३५ हजार रुपैयाँ बराबरको चिनी र मैदा पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय वीरगंजमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक खुम बहादुर केसीले बताए।

Leave A Reply

Your email address will not be published.