बिचौलिया आरोप विरुद्ध लेखापढी व्यवसायी आन्दोलनमा, पर्सामा सेवा ठप्प

131

वीरगञ्ज–  पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। प्रहरीले बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरूले अनिश्चितकालीन हड्ताल घोषणा गर्दै सेवा ठप्प पारेका हुन्।

गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा बन्द गरेका छन्।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णय अनुसार सरकार र प्रहरी प्रशासनको कार्यशैली विरुद्ध आन्दोलन सुरु गरिएको हो। उनले लेखापढी व्यवसायीहरूलाई बिनाकारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत पक्राउ गरिएको आरोप लगाए।

यादवले नेपाल सरकारको नियम अनुसार भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिएर धरौटी बुझाई सेवा सञ्चालन गरिरहेका व्यवसायीहरू माथि विभिन्न बहाना बनाइ धरपकड गरिनु खेदजनक भएको बताए। उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।

उनका अनुसार पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १ सय २१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सय भन्दा बढी व्यवसायी सक्रिय रहेका छन्। आन्दोलनका कारण सेवाग्राहीहरू भने प्रत्यक्ष प्रभावित भएका छन्।

Leave A Reply

Your email address will not be published.