बीरगंजमा “हरियो, स्वच्छ र आकर्षक सहर” अभियान सुरु

53

 

बीरगंज, १६ कार्तिक – बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नं। १३ गण र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा आज आइतवार “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भ गरिएको छ।

महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको उक्त अभियानको मुख्य उद्देश्य बीरगंजलाई प्रदूषणमुक्त, हरियालीयुक्त र पर्यटनमैत्री सहरका रूपमा विकास गर्नु हो।

कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल, नगर प्रहरी, भन्सार कार्यालयका अधिकारीहरू, स्थानीय सरोकारवाला र सामुदायिक प्रहरीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा मितेरी पुल आसपासको क्षेत्रको बृहत सरसफाइ, फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने र वृक्षारोपणको काम सम्पन्न गरिएको छ। अध्यक्ष खेतानले भने, “बीरगंज नेपालको प्रवेशद्वार हो। सहरको सौन्दर्य र सफाइले यहाँ आउने भारतीय पर्यटक र व्यापारीलाई आकर्षित गर्नुपर्छ। हाम्रो अभियान निरन्तर जारी रहनेछ।”

एसपी पुरनचन्द्र भट्टले पनि अभियानको प्रशंसा गर्दै भने, “सशस्त्र प्रहरी बल समुदायसँग मिलेर सहरलाई स्वच्छ राख्न सदैव तयार छ।”

अभियान अनुसार भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्म वृक्षारोपण, फोहोर व्यवस्थापन र सरसफाइका स्थायी उपायहरू लागू गरिने योजना छ।

Leave A Reply

Your email address will not be published.