बैंककबाट उत्तर–पूर्व जाँदै गरेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

30

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ गइरहेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

समाचार संस्था अलजजिराका अनुसार दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो।

उच्च गतिको रेलमार्ग निर्माण भइरहेको स्थानमुनिबाट रेल गुडिरहेका बेला माथिबाट काम गरिरहेको क्रेन भत्किएर सीधै रेलमाथि खसेको जनाइएको छ। क्रेनको ठक्करपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसपछि केही बेर आगलागीसमेत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अलजजिराका स्थानीय रिपोर्टरका अनुसार प्रारम्भिक विवरणमा चार जनाको मात्र मृत्यु भएको बताइएको थियो। तर घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या क्रमशः बढ्दै १२ पुगेको र हाल थाई प्रहरीले २२ जनाको मृत्यु पुष्टि गरेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा ५५ जना घाइते भएका छन्। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ भने दुर्घटनास्थलमा अझै पनि उद्धार तथा खोजी कार्य जारी छ। आगलागीलाई भने पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको थाई प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.