ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक कार्यक्रम सम्पन्न
बीरगंज, असार १६
बीरगंज स्थित ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा श्रीराम अस्पतालकी निर्देशक डा. प्रीति यादवले मानसिक सन्तुलन, तनाव व्यवस्थापन र युवा पुस्तामा आत्मविश्वास अभिवृद्धिका उपायहरूबारे जानकारी दिँदै मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह महत्व दिनुपर्ने बताइन्।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी, पर्साका अध्यक्ष कमल चौगाईले “ग्लोबली सोचौं, स्थानीय रूपमा कार्य गरौं” भन्ने मुल नारालाई आत्मसात गर्दै सामाजिक परिवर्तन युवाबाट नै सम्भव हुने बताए।नेपाल इनोभेटिभ सोसाइटी, पर्साका अध्यक्ष कमल चौगाईले “Think globally, act locally” अर्थात् “ग्लोबली सोचौं, स्थानीय रूपमा कार्य गरौं” भन्ने मूल नारालाई आत्मसात गर्दै युवालाई सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा चित्रण गरेका छन्।
हालै एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चौगाईले नेपालमा सीप सिकेर बिदेशिने परिपाटीको सट्टा युवाले आफ्नै देशमै सिर्जनशील कार्य गरी रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने, “खाडी जानुको सट्टा यदि यही देशमा केही गर्न सकियो भने स्वाभिमानका साथ बाँच्न सकिन्छ, आफ्नै माटोमा केही गर्न पाउनु गर्वको कुरा हो।”
उनका अनुसार सामाजिक परिवर्तन कुनै ठूला शक्तिबाट होइन, युवाको सक्रियता, सोच र कार्यशैलीबाट सम्भव हुन्छ। त्यही कारणले नेपाल इनोभेटिभ सोसाइटीले युवामैत्री कार्यक्रम, उद्यमशिलता अभिवृद्धि, शिक्षा तथा स्वास्थ्यसँग जोडिएका विविध परियोजनाहरूमा सक्रियता देखाउँदै आएको छ।
कार्यक्रममा उपस्थित विद्यार्थी हरूलाई सम्बोधन गर्दै उनले युवामा सकारात्मक सोच, आत्मविश्वास र नवप्रवर्तनशील क्षमताको विकास भएमा नेपाललाई समृद्ध बनाउने यात्रामा ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे।
उनको भनाइमा, “आजको पुस्ताले संसारको सन्दर्भ बुझेर काम गर्नुपर्छ, तर त्यसलाई कार्यान्वयन भने स्थानीय स्तरमै गर्नुपर्छ।”
नेपाल इनोभेटिभ सोसाइटी पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तिकरण र सामाजिक सेवाका क्षेत्रमा सक्रिय गैर-नाफामूलक संस्था हो, जसले निरन्तर रूपमा युवालाई नेतृत्व र सामाजिक सेवामा अग्रसर गराउँदै आएको छ।
कार्यक्रम ब्राइट प्लस टु कलेज, बीरगंजद्वारा आयोजना गरिएको थियो। कार्यक्रममा कलेजका निर्देशक मुकेश प्रसाद गुप्ता र समन्वयकर्ता गोविन्द प्रसाद गुप्ताको सक्रिय उपस्थितिमा कक्षा १२ का साइन्स तथा म्यानेजमेन्ट संकायका विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यप्रति सजग बनाउने र सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने उद्देश्य राखेको थियो।