भारतीय क्रिकेटर विराट कोहली टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा

6

२९ वैशाख,काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० लाई आफ्नो निर्णयबारे जानकारी गराएका कोहलीले आज सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा टेस्ट क्रिकेटबाट बिदा भएको बताएका हुन्।

इंग्ल्यान्डविरुद्ध आगामी पाँच खेलको टेस्ट सिरिज जुन २० देखि सुरु हुनुअघि कोहलीको यो घोषणाले भारतीय टोलीलाई ठूलो झट्का लागेको छ। अब टोली व्यवस्थापनले युवा खेलाडीहरूमाथि विश्वास देखाउनुपर्ने चुनौती थपिएको छ।

यसअघि नै टी–२० क्रिकेटबाट संन्यास लिइसकेका कोहली अब भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र उपलब्ध हुनेछन्।

स्रोतका अनुसार कोहलीले गत एक महिनादेखि बिसिसिआईसँग संन्यासको विषयमा छलफल गरिरहेका थिए। टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्त्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि कोहली आफ्नो निर्णयमा अडिग रहे।

हालै रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् भने रविचन्द्रन अश्विनले अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदा भनेका थिए। यी अनुभवी खेलाडीहरूको संन्याससँगै अब भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नुपर्नेछ भने कोहलीको महत्त्वपूर्ण स्थानमा युवा खेलाडीलाई अवसर दिनुपर्नेछ।

विराट कोहलीले आफ्नो १४ वर्ष लामो टेस्ट करिअरमा १२३ टेस्ट म्याच खेल्दै ४६।८५ को औसतमा ९,२३० रन बनाएका छन्। उनको नाममा ३० शतक पनि रहेका छन्। उनले ६८ टेस्ट म्याचमा भारतीय टोलीको कप्तानी गरेका थिए।

यद्यपि, पछिल्लो समय कोहलीको टेस्ट फर्म भने खासै राम्रो थिएन। २०२४–२५ मा अस्ट्रेलियामा भएको बोर्डर–गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन बनाएका थिए, जसमा पर्थमा एक शतकबाहेक अन्य खेलमा उनको प्रदर्शन कमजोर रह्यो। त्यसअघि न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा पनि उनी चल्न सकेका थिएनन्।

अब इंग्ल्यान्डमा हुने महत्त्वपूर्ण टेस्ट सिरिजमा भारतीय टोलीले केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा ब्याट्सम्यानहरूमाथि ठूलो भरोसा राख्नुपर्ने देखिन्छ। कोहलीको संन्यासले निश्चित रूपमा भारतीय टेस्ट टोलीमा एक नयाँ युगको सुरुवात भएको छ।

Leave A Reply

Your email address will not be published.