भारतीय महिलाको ऐतिहासिक विजय : पहिलोपटक एकदिवसीय विश्वकप भारतको झोलीमा
१७ कात्तिक, काठमाडौं ।
भारतीय महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ। आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रनको विशाल योगफल बनायो। ओपनर शफाली वर्मा उत्कृष्ट फर्ममा देखिँदै ८७ रन जोडिन् भने दीप्ति शर्माले ५८ रनको योगदान दिइन्। कप्तान स्मृति मन्धानाले पनि ४५ रन बनाएर टोलीको इन्किङ स्थिर पारिन्।
जवाफमा २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमै अलआउट भयो। कप्तान लाउरा वुल्भार्डले ९८ बलमा शतक (१०१ रन) बनाएपनि टोलीलाई जित दिलाउन असफल भइन्। एनरी डर्कसनले ३५ रनको साथ दिइन् तर अन्य खेलाडीहरू ठुलो योगदान दिन सकेनन्।
भारतका लागि बलिङतर्फ दीप्ति शर्मा चमकिइन् , उनले ५ विकेट लिँदै दक्षिण अफ्रिकाको पारी ध्वस्त पारिन्। शफाली वर्माले २ विकेट र श्री चरनीले १ विकेट लिए।
यस अघि भारतले दुई पटक फाइनलमा पुगेको थियो तर उपाधिबाट वञ्चित रह्यो। यो पटक भने आफ्नै घरेलु मैदान मुम्बईमा भारतले इतिहास रच्दै पहिलो पटक विश्वकप ट्रफी उचालेको हो।
महिला विश्वकप क्रिकेटमा सबैभन्दा बढी ७ पटकको उपाधि अस्ट्रेलियाले जितेको छ। भारतले यो संस्करणको सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।