भियतनाममा भीषण बाढी र पहिरो : एक हप्तामा ९० जनाको मृत्यु
काठमाडौं । भियतनाममा आएको भीषण बाढी र पहिरोका कारण पछिल्लो एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि लगातार वर्षाका कारण दक्षिण–मध्य भियतनामका पर्यटकीय सहरहरू बारम्बार डुबानमा पर्दै आएका छन्, जसले करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्याएको अधिकारीहरू बताउँछन् ।
तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्रहरू पानीमा डुबेका छन् भने प्रख्यात पर्यटन गन्तव्य दा लाट आसपासका पहाडी भूभागमा घातक भूस्खलनका घटनाहरू बढेका छन् ।
डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई दिनसम्म घरको छतमा फँसिएर ज्यान जोगाउन बाध्य भए । “हाम्रो गाउँ लगभग पूर्ण रूपमा नष्ट भयो, चिहानहरू समेत ढाकिए,” उनले सम्पर्कमा आएका सञ्चारमाध्यमसँग बताएका छन् ।
नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा बढी डाक लाक प्रान्तमै रहेका छन् । प्रान्तमा दशौँ हजार घरहरू डुबानमा परेका छन् भने ८० हजार हेक्टरभन्दा बढी चामल तथा अन्य बाली नष्ट भएको छ । साथै करिब ३२ लाख गाई–वस्तु तथा कुखुराहरूको मृत्यु भएको वा बाढीले बगाएको विवरण सार्वजनिक गरिएको छ ।
सामान्यतया बाढीबाट जोगिन राखिने संरचनाहरू पनि यसपटक निकम्मा सावित भएका छन् । पानी एक मिटरभन्दा माथि पुग्दा सामान्य सुरक्षा उपायले काम गरेन ।
राहत तथा उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ । राज्य सञ्चालित पत्रिकाका अनुसार दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी खानेकुरा तथा अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको छ ।
अहिले पनि धेरै स्थानमा राष्ट्रिय राजमार्ग अवरुद्ध छन् भने कतिपय रेलवे सेवा स्थगित अवस्थामा छन् ।
भियतनामको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो वर्ष जनवरीदेखि अक्टोबरसम्म विभिन्न प्राकृतिक प्रकोपका घटनाले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ । कुल क्षति दुई अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
विशेषज्ञहरूले मानवसिर्जित जलवायु परिवर्तनका कारण दक्षिणपूर्वी एसियामा चरम मौसमजन्य घटनाहरू थप बारम्बार र विनाशकारी हुँदै गएको चेतावनी दिएका छन् ।