भूमी समस्या समाधान आयोग पर्साद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगन्ज भूमी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिलेको आयोग अन्तिम आयोग भएकाले यसलाई सफल पार्न पालिका जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
वीरगन्जमा मंगलबार भूमी समस्या समाधान आयोग पर्साले आयोजना गरेको भूमी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष रिजालले भने,‘ भूमीहिनहरुको समस्या समाधानका लागि गठन भएको अहिलेको आयोग अन्तिम आयोग हो । यदि अहिलेको आयोगलाई सफल बनाइएन भने देशभरका लाखौं भूमीहिन सुकुम्बासी र दलितहरु जग्गा पाउनबाट बञ्चित हुन्छन् । त्यसका कारण अहिलेको आयोगलाई सफल बनाउन सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्छ।’
अध्यक्ष रिजालले देशभरबाट आयोगमा अहिलेसम्म भूमीहिन दलित,सुकुम्बासी र अव्यस्थित बसोबासी गरी ११ लाख ३ हजार ९ सय ८० जनाको निवेदन परेको जानकारी गराए । तीमध्ये सबै भन्दा बढी अव्यवस्थित बसोबासी ८ लाख ५० हजार , भूहिहिन सुकुम्बासी १ लाख ६५ हजार र भूमिहिन दलित ८७ हजार रहेको उनले बताए ।
आवेदन परेकाहरुका बारेमा आयोगले छानबिन गरिरहेको भन्दै अध्यक्ष रिजालले भने,‘देशभरका वास्तविक भूमीहिन दलित,सुकुम्बासी र अव्यस्थित बसोबासीहरुलाई ३ वर्षभित्र जग्गा दिने लक्ष्यका साथ आयोगले काम थालेको हो । अब ३२ महिनामात्रै बाँकी छ । यो अवधिमा आयोगले लक्षित समुदायलाई जग्गा उपलब्ध गराउँछ ।’
आगामी असार मसान्तसम्म भूमीहिन दलित,सुकुम्बासी र अव्यस्थित बसोबासीहरुको लगत संकलनको काम पुरा गर्ने लक्ष्यमा आयोग रहेको जानकारीपनि उनले गराए । पर्सा जिल्लामै पनि अहिले सम्म १४ पालिकामध्ये ३ वटा पालिका र बाराको १६ पालिकामध्ये ४ पालिकाको लगत संकलन भएको जानकारी गराउँदै उनले भने,‘ बाँकी रहेका पालिकाहरुकोपनि लगत असार मसान्तभित्र सक्ने योजना हाम्रो छ।’
यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीले यो आयोग वास्तबिक आयोग हुने बताउनु भयो । उहाँले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्याको समाधान गरिने गरि या आयोगले काम गरिरहेकोे जानकारी दिनुभयो । उहाँले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताउनुभयो ।
कार्यक्रममा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले भूमीहिन दलित,सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गरााउने सन्दर्भमा अब कुनैपनि बहाना नचल्ने बताए । आँफुहरुको कार्यकालमा लक्षित समुदायलाई जग्गा वितरण गर्ने अठोटका साथ आँफुहरुले काम गरिरहेको उनले बताए ।
कार्यक्रममा सहभागी पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुख,उप्रमुख,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा कार्यालयका सचिव,जिल्लामा सकृय राजनीतिक दलका प्रतिनिधि लगायतलाई आयोगका आयोगका प्रमुख नापी अधिकृत सन्जिव साहले आयोगको कार्यविधी, भूमी ऐन,जग्गा कसले पाउने , कसरी पाउने, कति पाउने लगायतका विषयमा जानकारी गराएका थिए ।