मधेशबाट पर्सा मात्र उत्कृष्ट, प्याब्सनद्वारा सम्मान

73

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मधेश प्रदेशबाट उत्कृष्ट कार्यसम्पादन गर्ने एकमात्र जिल्ला कार्यसमितिका रूपमा पर्सालाई सम्मान गरिएको हो। प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी र प्रमुख सल्लाहकार डिके ढुंगानाले संयुक्त रूपमा पर्सा अध्यक्ष सरोज प्रसाद चौधरीलाई सम्मानपत्र प्रदान गरे।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाका अनुसार संगठनका नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै संगठनको गरिमा उच्च राख्न सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गरेको आधारमा पर्सा कार्यसमिति छनोटमा परेको हो।

शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्‍याउनुका साथै संस्थागत विद्यालयहरूको हकहित संरक्षण र संगठन सुदृढीकरणमा खेलेको भूमिकाका कारण पनि पर्साले यो उपलब्धि हासिल गरेको जनाइएको छ।

पर्सा कार्यसमितिले विद्यालय, शिक्षक तथा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। शिक्षक तालिम, अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वय सुदृढीकरणमार्फत जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ।

कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो। परिषद् बैठकमा आगामी शैक्षिक नीति, संगठनको रणनीति तथा संस्थागत विद्यालयहरूले भोगिरहेका चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल भएको थियो।

प्याब्सन पर्साको यस उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिँदै अन्य जिल्लाहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.