मधेसका जिल्लाहरूमा बढ्यो चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह
वीरगञ्ज स् पर्सा र बारालगायत मधेसका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । चिसोबाट जोगिन चिकित्सकहरूले न्यानो लुगा लगाउन, झोलिलो खानेकुरा सेवन गर्न, र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।
नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। उदयनारायण सिंहका अनुसार बालबालिका, वृद्ध–वृद्धा, दम तथा रुघाखोकीका बिरामीहरूलाई चिसोले थप समस्या निम्त्याउन सक्छ । उनले यस्तो अवस्थामा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
बाथ र गठियाका बिरामीहरूलाई बिहानको समयमा मर्निङ वाक नगर्न, र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन सल्लाह दिएका छन् । अर्का फिजिसियन डा। नीरज सिंहले वीरगञ्ज क्षेत्रमा केही दिनदेखि चिसो अत्यधिक बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
वीरगञ्जका अस्पतालहरूमा रुघाखोकी, ज्वरो र कोल्ड डायरियाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । बिहानैदेखि कुहिरो लाग्ने क्रम जारी रहेकाले थप चिसो बढ्ने सम्भावना रहेको डां। सिंहको भनाइ छ ।
चिसोबाट प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि प्रदेश सरकारले दाउरा र कम्बल वितरणको पहल गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवका अनुसार सबै जिल्लामा कम्बल पठाइसकिएको छ ।
साथै, चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिएका छन् ।चिसोको प्रभावबाट जोगिन स्थानीय प्रशासन र नागरिकहरूले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ ।