मधेसमा परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था सहित सम्पन्न

44

६,कार्तिक वीरगंज
मधेसका बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहटलगायत जिल्लाका गाउँ–सहरहरूमा आज परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक श्रद्धा, सांस्कृतिक उत्साह र पारिवारिक आत्मीयताका साथ उल्लासपूर्वक मनाइयो। बिहानैदेखि गाउँ–गाउँका चौबाटा, गल्ली–टोल र मठ–मन्दिर क्षेत्रमा महिलाहरूको भीड लागेको देखिन्थ्यो।

अघिल्लो रात मिथिला क्षेत्रका घरघरमा गाई–भैंसीका गोठमा गोबरबाट गोधन, अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाउने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार, राति गाई–बस्तुले त्यस गोधनलाई कुल्चेपछि बाँकी भागलाई बिहान केराउको दाना मिसाएर कुट्ने चलन छ — यही विधिलाई “गोधन कुट्ने” भनिन्छ।

पर्वको अर्को रमाइलो पक्ष भनेको हासो–ठट्टा र स्नेहको आदानप्रदान हो। बिहान महिलाहरूले दाजुभाइहरूलाई केराउको दाना ९बजरी० खुवाउँछन् र उनीहरूको दीर्घायु, समृद्धि र बलको कामना गर्छन्। दाजुभाइहरूले पनि कोसेली, कपडा वा दक्षिणा दिई दिदीबहिनीप्रति आभार र सम्मान व्यक्त गर्छन्।

यस क्रममा महिलाहरू रमाइलो पारामा गुञ्जिने लोककथन दोहोर्‍याउँछन् —
“बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा।”
यसको अर्थ, “केराउ खाएर बलियो बन, र दान नदिए दरिद्र बन,” भन्ने सन्देश दिनु हो।

गोधन कुट्ने पर्व मिथिला संस्कृतिको मौलिक पहिचानका रूपमा स्थापित छ। यसले महिलाको श्रद्धा, श्रम र पारिवारिक सम्बन्धलाई सशक्त बनाउँछ। तिहारपछि मनाइने यो पर्वले समाजमा आपसी प्रेम, सहकार्य र धार्मिक एकताको सन्देश फैलाउने विश्वास गरिन्छ।

Leave A Reply

Your email address will not be published.