मन्त्री चौरसियाले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण
०८ मंसिर बारा
बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अहिले अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ । शनिवार नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
गढीमाई मन्दिर पुगेर मन्त्री अजय चौरसियाले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्नुभएको प्रचारप्रसार उपसमितिले जनाएको छ । गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच बर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आए पछि सबैको मनोकामना पूरा हुने गरेको बताउनु भयो । हिन्दूहरुको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहेको मन्त्री चौरसियाले बताउनु भयो ।
नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौं गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनु भयो ।
विश्व प्रसिद्ध मन्दिरको रुपमा रहेको गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सुचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताउनु भयो । गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दूहरु संग उहाँले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गर्नु भयो ।
विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरु मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारिनै रहेको छ ।यश बर्ष विश्व प्रसिद्ध गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्न आउने मेला समितिले अनुमान गरेको छ।