महागढीमाईमा SEE अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न

50

पुस २६, बारा

बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा SEE Awareness तथा Educational Seminar अन्तर्गत व्यक्तित्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटी बारा–कलैयाको आयोजनामा तथा महागढीमाई नगरपालिकाको मुख्य सहयोगमा सम्पन्न व्यक्तित्व विकास तथा एसईई अभिमुखीकरण कार्यक्रम–२०८२ ले विद्यार्थीहरूमा उत्साह थपेको छ।

हेल्पिङ्ग हैण्ड युथ सोसाइटी बारा अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा महागढीमाई नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका सबै वडा अध्यक्षहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–शिक्षिकाहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मोटिभेशनल स्पीकरहरू प्रदीप कुमार साह र सगर कुमार कुशवाहाले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रमको समग्र प्रबन्धन तथा निर्देशन पुनम यादवले गर्नुभएको थियो भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ताले गर्नुभएको थियो।

मोटिभेशनल वक्ता प्रदीप कुमार साहले विद्यार्थीहरूलाई एसईई परीक्षा पूर्व तयारीका प्रभावकारी उपायहरूबारे विशेष प्रशिक्षण दिनुभयो। उहाँले समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक सुझाव दिनुभयो।

त्यसैगरी, परीक्षा नजिकिँदै जाँदा हुने मानसिक तनावलाई नियन्त्रण गर्ने तरिका, नियमित र योजनाबद्ध अध्ययनको महत्व तथा कठिन विषयमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने विषयमा पनि उहाँले मार्गदर्शन गर्नुभयो। साना–साना विश्रामसहित अध्ययन गर्ने रणनीतिले सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास तथा योजनाबद्ध तयारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

Leave A Reply

Your email address will not be published.