महोत्तरीमा कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
महोत्तरी । महोत्तरीको हलखोरी क्षेत्रमा सशस्त्र प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा एक भारतीय नागरिक अवैध हतियारसहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी चोकमा रोखिएको होन्डा साइन मोटरसाइकलको सिटमुनि लुकाइएको एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली फेला परेको हो।
खोजतलासका क्रममा हतियार देखिएपछि चालकलाई तत्काल नियन्त्रणमा लिइएको अधिकारीले बताए।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सीतामढी जिल्ला अन्तर्गत पटदौरा ग्राम पञ्चायत बसोबास गर्ने २६ वर्षीय सरोजकुमार कुर्मी रहेको प्रहरीले जनाएको छ।
कुर्मीलाई प्रारम्भिक बयानपछि आवश्यक अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।