मिनि ल्यान्ड स्कुलको ४२औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र

244

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ मा रहेको मिनि ल्यान्ड बोर्डिङ स्कुलले आफ्नो ४२औँ वार्षिकोत्सव समारोह भव्य रूपमा मनाएको छ। समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) महानगर अध्यक्ष राहुल श्रीवास्तव र प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल सावित हुँदै आएको विद्यालयले ४२औँ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुशी व्यक्त गरे। विद्यालयलाई यहाँसम्म ल्याउन विद्यालय परिवार, डाइरेक्टर लालबाबु पटेल, सञ्चालक सुरज बाबु पटेल तथा शिक्षक–शिक्षिकाहरूको महत्वपूर्ण भूमिका रहेको उनले बताए। आगामी दिनमा विद्यालयले अझ धेरै उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरे।

त्यसैगरी प्याप्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिए। उनले विद्यार्थीहरूको समग्र विकासमा विद्यालय, अभिभावक तथा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्न शुभकामना दिए।

कार्यक्रममा प्याप्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधानले पनि विद्यालयले विगतदेखि नै सक्षम तथा योग्य विद्यार्थी उत्पादन गर्दै आएको उल्लेख गर्दै विद्यालयका डाइरेक्टर लालबाबु पटेललाई धन्यवाद दिएका थिए। उनले विद्यालयले भविष्यमा अझ राम्रो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका थिए।

विद्यालयका सञ्चालक सुरज बाबु पटेलका अनुसार विद्यालयले वर्षभरि विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो।

वार्षिकोत्सव कार्यक्रममा प्याप्सन मधेस प्रदेशका सल्लाहकार इमामुदिन अहमद, सल्लाहकार आलोक चौरसिया, महानगर सचिव अमित आलोक, मधेस प्रदेश सल्लाहकार मणि पाख्रेङ, पूर्व उपाध्यक्ष शिवजी गुप्ता, सदस्य विजय बललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सञ्चालक तथा डाइरेक्टर लालबाबु पटेलले व्यक्त गरेका थिए। उनले अभिभावकहरूलाई आफ्ना बालबालिकाको पढाइ र विकासबारे समय–समयमा विद्यालयसँग सुझाव–सल्लाह लिन आग्रह गरे। बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको शिक्षा र विकासबारे अभिभावकले चासो लिनु अत्यन्त आवश्यक रहेको उनले बताए।

विद्यालयका सञ्चालक सुरज बाबु पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।

Leave A Reply

Your email address will not be published.