युवाको मनोभाव बुझ्दै सुशील साह कानुको घरदैलो अभियान
वीरगञ्ज — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का युवाहरूको मनोभाव बुझ्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुले वीरगञ्ज महानगरपालिका वडा नं. २७ जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा कानुले स्थानीय युवासँग प्रत्यक्ष संवाद गर्दै रोजगारी, शिक्षा, सीप विकास, उद्यमशीलता र सुशासनलाई आफ्नो राजनीतिक एजेन्डाको प्राथमिकतामा राखेर धारणा राखेका थिए। युवाको सक्रिय सहभागिताबिनाको राजनीति र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उनले युवालाई नीति निर्माणको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी युवाहरूले बेरोजगारी, वैदेशिक पलायन र अवसरको अभावबारे गुनासा व्यक्त गरेका थिए। ती गुनासालाई सम्बोधन गर्दै कानुले पारदर्शी शासन, जवाफदेही नेतृत्व र परिणाममुखी विकासमार्फत युवाको भविष्य सुरक्षित गर्ने दाबी गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. २ का विभिन्न वडामा यस्तै युवाकेन्द्रित घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।