रक्सौल देखि काठमाडौंसम्म सीधा रेल सेवा सञ्चालन हुने सम्भावना बलियो
काठमाडौं । भारतको बिहार स्थित रक्सौलदेखि नेपालको राजधानी काठमाडौंसम्म सीधा रेल सेवा सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको छ ।
यसका लागि प्रस्तावित नयाँ रेलमार्ग निर्माणको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । करिब १३६ किलोमिटर लम्बाइको यो रेलमार्ग निर्माणमा झण्डै २५ हजार करोड भारतीय रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यो रेलमार्गमा १३ वटा स्टेशन रहने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
हाल रक्सौल भारतको राजधानी नयाँ दिल्लीसँग रेलमार्फत् जोडिएको छ । नयाँ रेलमार्ग निर्माणपछि सोही जडानलाई नेपालको राजधानी काठमाडौंसम्म विस्तार गरिनेछ ।
यो महत्वाकांक्षी आयोजनाको लागि भारतको कोकण रेल्वे कर्पोरेशन लिमिटेडले अन्तिम भू–सर्वे ९फाइनल ल्याण्ड सर्भे० सुरु गरिसकेको छ । उक्त सर्वेक्षण एक वर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ ।
करीब ३७ करोड रुपैयाँको लागतमा यो सर्वेपछि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिनेछ । त्यसपछि रेलमार्ग निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढाइनेछ।
सन् २०२२ मा प्रारम्भिक छलफल सुरु गरिएको यो आयोजनाले दुई मुलुकका राजधानीहरू बीचको आवागमनलाई सहज र सुलभ बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
नयाँ रेलमार्ग सञ्चालनमा आएपछि रक्सौंलदेखि काठमाडौंको दूरी करिब २ देखि ३ घण्टामा पार गर्न सकिने अनुमान गरिएको छ । हाल सडक मार्ग हुँदै यो यात्रा गर्न झण्डै ५ घण्टा लाग्ने गरेको छ । रेलमार्ग सञ्चालनले यात्राको समय घटाउनुका साथै नेपाल–भारतबीच व्यापार तथा व्यवसायिक सम्बन्ध अझ बलियो हुने विश्वास गरिएको छ ।
सीमावर्ती नजिकै रहेको रक्सौल रेलवे स्टेशनको रणनीतिक अवस्थालाई उपयोग गर्दै यस परियोजनाले दुवै देशका लागि आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने देखिएको छ । यस रेलमार्ग निर्माणले सम्पूर्ण क्षेत्रीय यातायात पूर्वाधारको सुधारतर्फ एउटा महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।