रास्वपा उम्मेदवार कानुद्वारा पर्सागढी–४ मा घरदैलो, विकास र रोजगारीलाई प्राथमिकता
वीरगञ्ज, २७ माघ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए । उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएमा नीतिगत रूपमा काम गर्दै पर्सा जिल्लाको समग्र विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उम्मेदवार कानुले पर्सा जिल्लामा विद्यमान शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारसम्बन्धी समस्याहरूको समाधान नीतिगत सुधारमार्फत गरिने बताए । विशेषगरी वैदेशिक लगानी भित्र्याएर जिल्लाभित्र रोजगारीका अवसर सृजना गर्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उल्लेख गर्दै पहुँचयोग्य र प्रभावकारी सेवा सुनिश्चित गर्न नीतिगत पहल गरिने कानुले बताए । पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषिजन्य उत्पादनलाई वीरगञ्जसहित देशका विभिन्न बजारसम्म सहज रूपमा पुर्याउने व्यवस्था मिलाउने विषयलाई पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्ना समस्या, आवश्यकता र अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए । सो अवसरमा उम्मेदवार कानुले जनताका सुझावलाई आफ्नो चुनावी घोषणापत्र र भावी कार्यदिशामा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत रास्वपाले विकास, सुशासन र अवसर सृजनालाई केन्द्रमा राख्दै जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियानलाई थप तीव्र बनाउँदै लगेको जनाएको छ ।