रौतहटमा खुकुरी प्रहारले एक युवक घाइते

125

रौतहट। रौतहटको गढिमाई नगरपालिका–१ समनपुर निवासी ३५ वर्षीय चन्दन साहमाथि धारिलो हतियार खुकुरीले आक्रमण भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका–९ नरकटिया गाउँदेखि दक्षिणतर्फ एक किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साह आफ्नो मोटरसाइकलमा सवार भई गरुडाबाट समनपुरतर्फ गइरहेका बेला नाम र पहिचान नखुलेका व्यक्तिले उनलाई घेरा हालेर टाउको, पछाडिको भाग र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए। साहले प्रतिकार गर्दै चिच्याएपछि आक्रमणकारी भागेका थिए ।

घाइते अवस्थामा रहेका साहलाई तत्काल उपचारका लागि गरुडास्थित सरस्वती अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र हालसम्म बोल्न नसक्ने अवस्थामा रहेको परिवारजनले जानकारी दिएका छन् । आक्रमणमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।

आक्रमणको कारण र आक्रमणकारीको पहिचानबारे हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।

Leave A Reply

Your email address will not be published.