लायन्स क्लबको संयुक्त पहलमा वीरगञ्जमा स्वास्थ्य शिविर, १७५ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया हुने

35

मंसिर २७ वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–१९, बिन्दवासिनी बर्वा गोग टोलमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको उक्त शिविरमा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, परवानीपुर वीरगञ्जका अनुभवी नेत्ररोग विशेषज्ञ डा. कौशल कुमार कर्णसहित लालबाबू पटेल, सन्तोष ठाकुर, राजेश प्रसाद यादव, बिन्दु साह, कृष्णा रौनियार, सोम बहादुर श्रेष्ठ, नवराज यादव लगायतको चिकित्सक टोलीले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

शिविरमा कुल ४६४ जनाले निःशुल्क स्वास्थ्य परामर्श लिएका थिए। परीक्षणका क्रममा १७५ जनामा मोतिबिन्दु (क्याटार्याक्ट) पहिचान भएको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले जानकारी दिए। उनका अनुसार गम्भीर अवस्थामा रहेका ती सबै १७५ जनाको केडिया आँखा अस्पताल, वीरगञ्जमा पूर्ण रूपमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिनेछ।

त्यसैगरी, परिवार डेन्टल क्लिनिक वीरगञ्जका दन्तरोग विशेषज्ञ डा. विकास पटेल र डा. बन्दना ठाकुरले शिविरमा १९० जनाको दन्त परीक्षण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट चिफ लायन विजय गुप्ताले शिविरले स्थानीयवासीलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको उल्लेख गर्दै यस्ता स्वास्थ्योपयोगी कार्यक्रमलाई निरन्तरता दिन आयोजक पक्षलाई आग्रह गरे।

लायन्स इन्टरनेशनलका जोन चेयरपर्सन लायन सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एडभाइजर लायन मनोहर टिबडेवाल, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी उपाध्यक्ष लायन कुसुम वर्णवाल, लायन्स क्लब अफ वीरगञ्जका कोषाध्यक्ष लायन बंशराज गुप्ता, लायन रूपशिला जैसवाललगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.