लिग–२ : लगातार हारपछि नेपाल आज यूएईविरुद्ध पुनरागमनका लक्ष्यसहित मैदानमा
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार तीन खेलमा पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ ।
नेपालले पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजय व्यहोरेको थियो । त्यसपछि अमेरिकासँग पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले हार बेहोरेको थियो । आज नेपाल यूएईविरुद्ध बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्ने लक्ष्यमा छ।
यूएई पनि अमेरिकासँगका दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ सय ४३ रनले हार भोगेको यूएई आज नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने योजनामा रहेको छ।