लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. ८ पानीट्याङ्कीमा रहेको लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव आज भव्य रूपमा सम्पन्न भएको छ। प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले साना नानीहरूले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुतिले आफूलाई अत्यन्त खुसी बनाएको बताए। उनले भने, “विद्यालय केवल खोज्ने मात्र होइन, नानीहरूको प्रतिभालाई उजागर गर्दै लेखन र व्यवहारिक सीपमा दक्ष बनाउनु महत्त्वपूर्ण हुन्छ। पिजी, नर्सरी, एलकेजी र युकेजी तहका विद्यार्थीहरूलाई समग्र विकासतर्फ लैजाने यस्ता विद्यालय वीरगञ्जमा कमै छन्।”
उनले लिटिल बडी प्री–स्कुलले उज्ज्वल भविष्य निर्माणको वातावरण सिर्जना गरेको उल्लेख गर्दै विद्यालय परिवारलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे।
यस्ता साना नानीहरूलाई गुणस्तरीय शिक्षा दिने विद्यालय कम रहेको उल्लेख गर्दै प्रमुख अतिथि कर्णले लिटिल बडी प्री–स्कुलले अभिभावकहरूको विश्वास जित्न सफल भएको बताए र विद्यार्थीहरूको भविष्य उज्ज्वल देखिएको धारणा व्यक्त गरे।
वार्षिकोत्सव समारोहमा प्याब्सनका जिल्ला सचिव अशोक संग्रौला, जिल्ला सदस्य सुलभ केसी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, महानगर सचिव अमित आलोक एन, प्याब्सन महानगर अध्यक्ष जियालाल शाह, अभिभावकहरू, शिक्षक–शिक्षिका तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षिका श्वेता गुप्ताले गरेकी थिइन्।
वार्षिकोत्सवमा एलकेजी, नर्सरी र युकेजीका विद्यार्थीहरूले विभिन्न जातजाति तथा भाषाका सांस्कृतिक नृत्य प्रस्तुत गर्दै उपस्थित अभिभावकहरूलाई मोहित पारेका थिए।