विद्यार्थीहरूले खाजाको पैसाबाट खुवाए मानवसेवा आश्रमका आमाबुबालाई खाजा

44

 

बिरगंज, साउन १७

बिरगंज महानगरपालिका वडा नं. ४ स्थित भगवती टोलमा रहेको बिकन माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। शनिबार बिहान ती विद्यार्थीहरूले आफ्नै खाजाको पैसाबाट संकलन गरेर बिरगंज मानवसेवा आश्रममा आश्रित ६५ जना आमा–बुबाहरुलाई खाजा खुवाउने सेवा कार्य सम्पन्न गरेका हुन्।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूकै स्वागत मन्तव्यबाट गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल जय दनुवार, को–अर्डिनेटर मंगल भट्टराई, शिक्षकहरू सुशिल ठाकुर, सन्चे मगर, प्रनिश श्रेष्ठ तथा समाजसेवी एवं सञ्चालक प्रकाश उपाध्याय विशेष अतिथिका रूपमा सहभागी थिए।

मानवसेवा आश्रमका संस्थापक सदस्य दिवेश गुप्ता र बिरगंज शाखा प्रमुख मुना पुलामी मगरको पनि विशेष उपस्थिति रहेको कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूको मानव सेवाप्रतिको झुकाव र सहभागिताको प्रशंसा गरे।

समाजसेवी तथा सञ्चालक प्रकाश उपाध्यायले भने, “समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षा मात्रै पर्याप्त हुँदैन, जबसम्म विद्यार्थीमा संवेदनशीलता र सहानुभूति विकास हुँदैन। आजका यी बालबालिकाले देखाएको सहृदयता साँच्चिकै अनुकरणीय छ। यस कार्यले अन्य विद्यालय तथा विद्यार्थीहरूलाई पनि प्रेरणा दिनेछ। मानवसेवा नै सच्चो धर्म हो भन्ने सन्देश उनीहरूले दिएका छन्।”

उपाध्यायले बिकन स्कुलको तर्फबाट मानवसेवा आश्रमलाई प्रत्येक महिना १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे।

विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा उनीहरूले आफ्नो खाजाको खर्चबाट सेवा कार्यमा सक्रिय भूमिका खेलेर सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए। विद्यालय प्रशासनले यस्ता सामाजिक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.