विद्यार्थी आन्दोलनपछि प्रशासन सक्रिय, क्याम्पस विवाद समाधान खोजिँदै
वीरगञ्ज, ८ चैत — वीरगञ्ज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पस का विद्यार्थीहरू शिक्षक आन्दोलनका कारण परीक्षा दिन नपाएपछि आइतबार सडकमा उत्रिएका छन्।
क्याम्पस प्रशासनले कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सञ्चालन हुने तालिका सार्वजनिक गरेको भए पनि बिहानै परीक्षा दिन पुगेका विद्यार्थीलाई मूल गेटमै रोकिएको थियो। आन्दोलनरत शिक्षकहरूले परीक्षा स्थगित गरिएको जनाउँदै विद्यार्थीलाई भित्र प्रवेश गर्न नदिएपछि स्थिति तनावपूर्ण बनेको हो।
आक्रोशित विद्यार्थीहरूले क्याम्पस गेटअगाडि प्रदर्शन थालेका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज गर्दै तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि झन् आक्रोशित बनेका विद्यार्थीहरू नाराबाजी गर्दै घण्टाघर चोकसम्म पुगे।
घण्टाघर क्षेत्रमा विद्यार्थीहरूले सडक अवरुद्ध गर्दै धर्ना दिए, चक्काजाम गरे र टायर बालेर विरोध प्रदर्शन चर्काएका थिए। उनीहरूले क्याम्पस व्यवस्थापन र शिक्षकबीचको विवादका कारण आफूहरू परीक्षाबाट वञ्चित भएको गुनासो गरेका छन्।
हरि खेतान क्याम्पस विवाद समाधानका लागि पहल, जिल्ला प्रशासन कार्यालयमा छलफल जारी –
हरि खेतान बहुमुखी क्याम्पस मा देखिएको विवाद समाधानका लागि यतिबेला जिल्ला प्रशासन कार्यालय पर्सा मा दुवै पक्षबीच छलफल भइरहेको छ।
क्याम्पस व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षकबीच उत्पन्न द्वन्द्वका कारण रोकिएको परीक्षा र उत्पन्न तनावलाई समाधान गर्ने उद्देश्यले प्रशासनको पहलमा वार्ता सुरु गरिएको हो।
छलफलमा परीक्षा सञ्चालन, शिक्षकका माग तथा क्याम्पसको समग्र शैक्षिक वातावरण सुधारबारे सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ।
यसअघि परीक्षा अवरुद्ध भएपछि विद्यार्थीहरूले सडकमा प्रदर्शन गर्दै चक्काजाम र विरोध जनाएका थिए। हालको छलफलले समस्या समाधानतर्फ सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।