विद्यालयस्तरीय प्याब्सन टी–१० क्रिकेटमा लिटल फ्लावरसहित चार टोली विजयी
वीरगञ्ज । पौष ३
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत आज बिहीबार चार खेल सम्पन्न भएका छन्।
८–८ ओभरमा खेलाइएको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गर्दै विजय हासिल गरेको छ। २३ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले २५ रन बनाउँदै सहज जित निकालेको हो।

दोस्रो खेलमा विकन स्कूलले दिएको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर पूरा गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ।
त्यस्तै तेस्रो खेलमा नवदीप स्कूलले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिकाले सफलतापूर्वक पछ्याउँदै जित हात पारेको थियो। अन्तिम खेलमा कालिकामाई स्कूलले चिल्ड्रेन वर्ल्ड स्कूललाई पराजित गर्दै प्रतियोगितामा अगाडि बढेको छ।

विद्यालयस्तरमै छात्रा तथा जुनियर छात्रलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको छ। खेलकुद गतिविधिले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै स्थानीयवासी तथा दर्शकहरूले यस्ता प्रतियोगिता भविष्यमा पनि निरन्तर आयोजना हुनुपर्ने माग गरेका छन्।