विद्युत् प्राधिकरणको चालु आर्थिक वर्षको नाफा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ

18

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

गएको साउन, भदौ र असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत गरी कुल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । तीन महिनामा ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट बिजुली खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

गएको साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुलीको आयात गरिएको छैन । असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.