विवाहेतर सम्बन्धका कारण वीरगञ्जमा प्रहरी जवानको हत्या, चार जना पक्राउ

142

एआईद्वारा निर्मित तस्बिर – 

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–११ रानीघाटमा प्रहरी जवान विकास चौरसियाको हत्या विवाहेतर प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय चौरसियाको आइतबार साँझ कुटपिटपछि मृत्यु भएको हो। उनी रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका सन्तोष साहको कोठामा पुगेका बेला आक्रमणमा परेका थिए।

घटनामा संलग्न रहेको आरोपमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारत उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापति पक्राउ परेका छन्।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार अनुसन्धानका क्रममा मृतक चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको खुलेपछि सन्तोषले हत्या योजना बनाएको देखिएको छ। सोही योजनाअनुसार सन्तोषले आफ्ना सहयोगीलाई कोठामा बोलाएका थिए भने सोनीमार्फत चौरसियालाई त्यहाँ बोलाइएको थियो।

कोठामा पुगेपछि चारै जनाले रड प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका चौरसियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.