विश्व रक्तदाताको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा अन्तर्क्रिया तथा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न

186

३१ जेठ वीरगञ्ज, आनन्द पटेल

विश्व रक्तदाताको अवसरमा शनिबार नेपाल रेडक्रस सोसाइटीले अन्तर्क्रिया कार्यक्रम तथा द्वीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । वीरगन्ज स्थित रक्तसञ्चार केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरल र सहज रुपमा आम नागरिकलाई रगत उपलब्ध गराउने विषयमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सलाहकार डा. प्रमोद सर्राफले यूवाहरुको शक्ति दुनियाको सबै भन्दा ठूलो शक्ति रहेको हुनाले यस्ता सामाजिक कार्यमा युवाहरुको योगदान बढिरहेको बताए । उनले कम जनशक्तिका बावजूद पनि नेपाल रेडक्रस सोसाइटीले गरेको योगदान सराहनीय रहेको बताए । साथै उनले समाजका सबै व्यक्तित्व मिलेर रगतको अभावलाई कम गर्न र बिरामीहरूको जीवन बचाउनमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी डाक्टर उदयनारायण सिंहले रक्तदान कार्यक्रममा महिलाहरुको उपस्थिति निकै कम रहेको हुनाले महिलाहरुलाई प्रेरणा दिएर रक्तदान कार्यक्रममा सहभागी गराउन सुझाए दिए । उनले हतारमा बिरामीका कुरुवालाई रगत लिन पठाउने परिपाटी हटाउनु पर्ने बताए । साथै उनले रक्तसञ्चार केन्द्रलाई अब सुविधासम्पन्न बनाएर अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।

यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपसभापति मधु राणाले आफू समाजसेवामा आफ्नो जीवन समर्पण गरेको र अब नयाँ जनशक्तिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रमममा समाजसेवी तथा यूवा नेता सञ्जु साहले यस्ता अन्तर्क्रिया कार्यक्रम अब हरेक गाउँगाउँमा लिएर जानुपर्ने समय रहेको बताए। उनले आफू निरन्तर रूपमा सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । यसैगरी समाजसेवी कमल चौगाईले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको भवन बनाउनु पर्ने कुरामा जोड दिए । साथै उनले यस कार्यको लागि आफू हरेक ठाउँमा समन्वय गर्न तयार रहेको बताए। यति मात्र होइन रक्तदान कार्यक्रममा सक्रिय रूपमा सहयोग गर्ने यूवा, समाजसेवी, बुद्धिजीवीलाई संस्थाले मान सम्मान गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा एनजीओ सिसिका अध्यक्ष इब्राहीम देवान, किसू सराफ, सञ्चारकर्मी आनन्द पटेल लगायतले अमूल्य सुझावहरु दिएका थिए। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका पर्सा शाखाका अध्यक्ष वृजकिशोर पटेलको अध्यक्षमा सम्पन्न भएको थियो । अध्यक्ष पटेलले आजको यस छलफलमा आएका महत्वपूर्ण सुझावलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। साथै उनले यस महान सामाजिक कार्यमा सहयोग गर्ने रक्तदाता, सामाजिक संघ संस्था लगायतलाई धन्यबाद दिए ।

प्रमुख पटेलले छिट्टै भारतीय दूतावासको सहयोगमा पर्सा र बारा जिल्लाको लागि नेपाल रेडक्रस सोसाईटीकाे आफ्नै एम्बुलेन्स सञ्चालनमा आउने बताए । साथै उनले आफू यस संस्थाको विकासको लागि दिनरात लागिपरेको बताए । कार्यक्रमममा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डे, समाजसेवी राजेन्द्र भट्टराई,  केन्द्रका कर्मचारी लगायत विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटीका वीरशमशेर कुर्मीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.