वीरगंजमा प्रहरी दिवसको विशेष समारोह, शहीद परिवारलाई सम्मान

73

र्सा — “नागरिक प्रहरी सहकार्य सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस–२०८२ पर्सामा विशेष समारोहका साथ सम्पन्न गरिएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न समारोह नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा वीरगंजको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा आयोजना गरिएको थियो।

कार्यक्रमका मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति र सुरक्षाको वातावरण कायम रहन सक्ने बताउँदै प्रहरी सेवाप्रति आफ्नो सम्मान र कृतज्ञता व्यक्त गरे।

सो अवसरमा उपस्थित पूर्व प्रहरी कर्मचारी, अमर शहीद प्रहरीका परिवारजन, प्रहरी अधिकारी तथा सञ्चारकर्मीहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे। साथै, अमर शहीद प्रहरी परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, डीएसपी किशोर लम्साल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईंलगायत प्रहरी अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

यस अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, श्रवणबहादुर रायमाझी तथा विभिन्न संघ–संस्थाहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पनि प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।

समारोहको अन्त्यमा प्रहरी प्रमुख सुदिप राज पाठकले ७०औं प्रहरी दिवसले प्रहरी संगठनलाई थप जिम्मेवार, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता जाहेर गर्दै सबैलाई सहकार्य र सहयोगको लागि आग्रह गरे।

Leave A Reply

Your email address will not be published.