वीरगंजमा वृक्षारोपण अभियान सम्पन्न, करिब १०० बिरुवा रोपिए
वीरगंज, १४ कार्तिक — आनन्द पटेल
वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका उद्देश्यले आज वीरगंज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) क्षेत्रमा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहनुभयो। उक्त कार्यक्रम सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।
विशिष्ट अतिथिहरूमा एसएसपी शान्ति राज कोईराला, डीएसपी सुदीप राज पाठक, इन्स्पेक्टर विक्रम सुबेदी, ट्राफिक प्रमुख युवराज कटवाल र भारतीय महावाणिज्य दूतावासका दूत डिएस मिना लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मौसम प्रतिकूल र वर्षा भइरहे पनि करिब १०० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएका थिए। कार्यक्रममा प्रहरी कर्मचारी, सामुदायिक प्रहरीका सदस्य, पदाधिकारी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता थियो।
मेयर सिंहले भने, “वृक्षारोपण मात्र होइन, तिनको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुन्छ। यस्तो अभियानले वीरगंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउन मद्दत पुर्याउँछ।”
अन्त्यमा आयोजक संस्थाहरूले निकट भविष्यमा वीरगंजका अन्य वडाहरूमा पनि यस्ता वृक्षारोपण तथा सरसफाइ अभियान विस्तार गर्ने योजना सार्वजनिक गरेका छन्।