वीरगञ्जका मुख्य क्षेत्रमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा लागू
२१ पुस, वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले तोकिएका क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस प्रकार रहेका छन्—
पूर्व: बसपार्क क्षेत्र
पश्चिम: सिर्सिया पुल
उत्तर: पावर हाउस चोक
दक्षिण: शङ्कराचार्य गेट
प्रशासनले जारी आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।