वीरगञ्जमा कर्फ्यु आज साँझ ६ बजेसम्म लम्बियो, समस्या समाधानका लागि राजनितिक दल–सामाजिक अगुवासँग छलफल जारी
वीरगञ्ज, पुस २२ (आनन्द पटेल)
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा जारी कर्फ्यु आदेश आज पुस २२ गते साँझ ६ बजेसम्म लम्ब्याएको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार मिति २०८२ पुस २१ गते साँझ ६ बजेदेखि लागू कर्फ्यु आदेश अवस्था सामान्य नहुँदासम्म निरन्तरता दिइएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा आवतजावत गर्न निषेध गरिएको छ।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्रको सीमांकन पूर्वतर्फ पूर्व बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिरिसिया नदी, उत्तरतर्फ गण्डक चौक तथा दक्षिणतर्फ शंकराचार्य गेट सम्म तोकिएको छ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा सञ्चार माध्यमका प्रतिनिधिहरूलाई आवश्यक परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिइने प्रशासनले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्सामा राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायतको उपस्थितिमा उत्पन्न समस्या समाधानका लागि निरन्तर छलफल भइरहेको प्रशासनले जानकारी दिएको छ। छलफलमार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रयास भइरहेको जनाउँदै प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।