वीरगञ्जमा कुटपिटपछि युवकको मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ।
पर्साको कालिकामाई गाउँपालिका–१ मुडलीका २७ वर्षीय विकास चौरसियाको कुटपिटका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रारम्भिक विवरणअनुसार उनी नेपाल प्रहरीका कर्मचारीसमेत रहेको बताइएको छ।
स्थानीयका अनुसार रौतहट घर भएका एक परिवार डेरा लिएर बस्दै आएको कोठामा सामान्य विवाद चर्किँदै जाँदा झगडा कुटपिटमा परिणत भएको थियो। सोही क्रममा रड प्रहार हुँदा चौरसियाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनापछि केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो। पछि प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा तीन पुरुष र एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।