वीरगञ्जमा नयाँ वर्षको पहिलो दिन भव्य ‘हनुमान आराधना तथा महाआरती’ आयोजना हुने
वीरगञ्ज, ३० चैत । नयाँ वर्ष २०८३ को पहिलो दिन वीरगञ्ज महानगरपालिका–१६ नगवामा विशेष धार्मिक अनुष्ठान ‘श्री हनुमान आराधना तथा महाआरती’ आयोजना हुने भएको छ । श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा सञ्चालित श्री १०८ सप्ताह हनुमान चालीसा पाठ सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा यो भव्य कार्यक्रम गर्न लागिएको हो ।
हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले कार्यक्रमको तयारीबारे जानकारी गराएको छ । सो अनुसार वैशाख १ गते मंगलबार नगवा पोखरीस्थित प्रसिद्ध श्री बैधि माई मन्दिर परिसरमा कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रमअनुसार बिहानैदेखि बेलुका ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन हुनेछ भने साँझ ६:३० बजे विशेष महाआरती सुरु हुने जनाइएको छ । महाआरती सम्पन्न भएपछि उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद वितरणको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

आयोजक समितिले उक्त धार्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण वीरगञ्जबासी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा गरेको छ । नयाँ वर्षको सुरुवात धार्मिक चेतना र आध्यात्मिक जागरणका साथ गर्ने उद्देश्यले कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
कार्यक्रमको सञ्चालन हिन्दु पत्रकार संघका सचिव राजकुमार सराफले गरेका थिए ।