वीरगञ्जमा भव्य रूपमा सम्पन्न भयो श्री जगन्नाथ रथ यात्रा, हजारौँ श्रद्धालुको सहभागिता

54

वीरगञ्ज, २८ चैत — वैदिक परम्परा अनुसार मनाइने श्री जगन्नाथ रथ यात्रा वीरगञ्जमा भव्य तथा श्रद्धापूर्वक सम्पन्न भएको छ। इस्कॉन वीरगञ्जको आयोजनामा सम्पन्न उक्त रथ यात्रामा हजारौँ श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

जगन्नाथ रथ यात्रा एक पवित्र र हर्षोल्लासपूर्ण पर्व हो, जसमा भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्रा निकालिन्छ। यस अवसरमा भगवानहरू मन्दिरबाट बाहिर निस्केर सर्वसाधारण भक्तजनलाई दर्शन तथा आशीर्वाद प्रदान गर्ने धार्मिक मान्यता रहेको छ।

आयोजकका अनुसार यस पर्वले समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने गर्दछ। कार्यक्रममा भव्य रथ यात्रा, मधुर भजन–कीर्तन, प्रेरणादायी आध्यात्मिक प्रवचन तथा हजारौँ सहभागीका लागि निःशुल्क प्रसाद वितरण गरिएको थियो।

रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन गरिएको थियो।

उक्त रथ यात्रामा विद्यालय तथा कलेजका विद्यार्थी, व्यापारिक समुदाय, विभिन्न संघसंस्था तथा वीरगञ्जका सर्वसाधारणहरूको व्यापक सहभागिता रहेको थियो। साथै पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल क्षेत्रबाट समेत हजारौँ श्रद्धालु उपस्थित भएका थिए।

कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। रथ यात्रा पश्चात सहभागीहरूलाई निःशुल्क प्रसाद वितरण गरिएको थियो भने नृत्यनाटकसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रम इस्कॉन वीरगञ्जका प्रमुख मुक्तिनाथ साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा उपस्थित रहेका थिए। साथै इस्कॉन वीरगञ्जका आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको विशेष उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.