वीरगञ्जमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न

92

वीरगञ्जमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न

वीरगञ्ज।

युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगञ्जमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेल र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। खेलकुदकै माध्यमबाट देशको पहिचान स्थापित हुने भएकाले खेलाडीको सम्मान र प्रोत्साहन अत्यावश्यक रहेको उहाँको भनाइ थियो। महानगरपालिकाले नयाँ खेलाडी उत्पादन, क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी उहाँले दिनुभयो। खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको सिंहले बताउनुभयो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याब्सन पर्साकी उपाध्यक्ष सुशिला साह तथा पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतले नियमित दौड र खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिनुभयो।

युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विशेषगरी विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताउँदै दौडप्रति रुचि भएका प्रतिभाहरूलाई अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले वीरगञ्जलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम स्थान हासिल गर्न सफल भए भने उनकै भाइ, सोही विद्यालयका धिरज प्रसाद यादव द्वितीय भए। वीरगञ्जस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थानमा रहे।

प्रथम हुने पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ तथा तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे। साथै सबै विजेताले मेडल, प्रमाणपत्र र एक–एक जोर जुत्ता पनि प्राप्त गरेका थिए।

कार्यक्रम संयोजनमा अंकित चौरसिया, नरोत्तम पाण्डेलगायतको सक्रिय भूमिका रहेको थियो।

कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगञ्ज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, लायन्स क्लब इन्टरनेशनलका श्याम गुप्ता, डा. पशुपति भट्ट, डा. दीपक चौरसिया, मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, एन–प्याब्सन वीरगञ्जका अध्यक्ष जियालाल गुप्ता, लिटल बड्डी प्रि–स्कूलका प्रधानाध्यापक विजय कुमार बललगायतको उपस्थिति रहेको थियो।

युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीका अनुसार प्रतियोगितामा बारा र पर्सा जिल्लाबाट २५० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.