वीरगञ्जमा सञ्चारकर्मीका लागि एआई तालिम, प्रविधिमैत्री पत्रकारितामा जोड

62

वीरगञ्ज, २९ मंसिर । आनन्द पटेल

वीरगञ्ज । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले बदलिँदो समय र परिवेश अनुसार सञ्चारकर्मीहरूले आफूलाई निरन्तर अपडेट गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। विज्ञान र प्रविधिमा भएको तीव्र विकासलाई समयमै आत्मसात् गर्न नसके सञ्चारकर्मीहरू पछाडि पर्ने जोखिम रहने उहाँको भनाइ छ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा पर्साका सञ्चारकर्मीहरूका लागि आज वीरगञ्जमा आयोजित कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री राउतले समाजलाई सचेत र जागरुक बनाउने महत्वपूर्ण जिम्मेवारी बोकेका सञ्चारकर्मीहरू प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको बताउनुभयो।

उहाँले मधेस प्रदेशको मुख्यमन्त्री रहँदा सञ्चारकर्मीहरूको सीप, क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आमसञ्चार प्राधिकरण गठन गरिएको स्मरण गर्दै आज सोही प्राधिकरणमार्फत एआई सम्बन्धी तालिम सञ्चालन हुनु खुशीको विषय भएको उल्लेख गर्नुभयो।

सञ्चारकर्मीहरूको हितका लागि स्थापना गरिएको आमसञ्चार प्राधिकरणको संरचनामा हालसम्म अपेक्षित विस्तार हुन नसक्नु दुःखद् भएको बताउँदै पूर्व मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासले सुशासन प्रवर्द्धन, विभेद अन्त्य तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्रशान्त क्षेत्रका सहसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनालले आ–आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले सञ्चार क्षेत्रमा एआईको प्रयोगले चुनौतीसँगै अवसरका नयाँ ढोका खोलेको उल्लेख गर्दै प्रविधि आत्मसात् गरे गुणस्तरीय पत्रकारिता र सुशासन प्रवर्द्धन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

तालिम कार्यक्रममा ६० जना भन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सुरेश विडारी र प्रकाश मैनालीले एआई प्रयोगका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कृत्रिम बौद्धिकताले समाचार उत्पादनलाई समयसापेक्ष, प्रभावकारी र गुणस्तरीय बनाउन कसरी सहयोग पुर्‍याउँछ भन्ने विषयमा विस्तृत जानकारी गराइएको थियो।

Leave A Reply

Your email address will not be published.