वीरगञ्जमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु

45

वीरगञ्ज, मधेश प्रदेश — मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण ९मेमोग्राम० र बाँझोपनको उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार आयोजित विशेष कार्यक्रममा दुवै सेवाको शुभारम्भ गरेका हुन्। उनले क्यान्सरको उपचार सेवा प्रदेशस्तरमै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई ‘महिलामैत्री स्वास्थ्य सेवाको महत्वपूर्ण उपलब्धि’ भनेका छन्।

प्रदेशमै सुपथ मूल्यमा सेवा

मन्त्री पौडेलका अनुसार, स्तन क्यान्सर समयमै पत्ता लगाएर उपचार गर्ने उद्देश्यले मेमोग्राम सेवा सुरु गरिएको हो। साथै, निःसन्तान दम्पत्तिका लागि बाँझोपनको उपचार सेवा पनि सुरु गरिएको छ। यी सेवाबाट मधेशका महिलाहरुले ठूलो राहत पाउने विश्वास उनले व्यक्त गरे।

“हाम्रो प्राथमिकता मधेशको स्वास्थ्य सेवा सुधार हो,” मन्त्री पौडेलले भने, “यी सेवाले यहाँका दिदीबहिनीलाई अब महँगो खर्च गरेर काठमाडौं वा भारत जानु नपर्नेछ।”

क्यान्सर विरुद्ध निरोधात्मक अभियान

मन्त्री पौडेलले क्यान्सरजस्ता नसर्ने रोग विरुद्ध निरोधात्मक अभियान घोषणा गरेका छन्। उनका अनुसार, संघीय नारायणी अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सेवा पहिले नै सञ्चालनमा आएको हो। अब क्याथ ल्याब सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

स्थानीयस्तरमै विशेषज्ञ सेवा

संघीय नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा. चुमनलाल दासले मधेशका महिलाहरूले विगतमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचारका लागि काठमाडौं वा भारतसम्म धाउनुपर्ने अवस्था रहेको बताए। “अब यी सेवा वीरगञ्जमै उपलब्ध भएपछि महिलाहरूलाई सहज हुने विश्वास लिएको छ,” डा. दासले भने।

आगामी योजना

मन्त्री पौडेलले आगामी बजेटमा मधेश प्रदेशका लागि लक्षित मृगौला उपचार केन्द्र स्थापना गर्ने योजना रहेको बताए। साथै, अन्य अत्यावश्यक सेवा विस्तारमा पनि मन्त्रालय प्राथमिकता दिने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.