वीरगञ्जमा हनुमान जन्मोत्सव: शनिबार ३० हजार भक्तजन सहित भव्य शोभा यात्रा हुँदै

60

२० चैत्र वीरगञ्ज आनन्द पटेल – 

विश्व हिन्दू परिषद् नेपाल वीरगञ्जले प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री हनुमान जन्मोत्सवको अवसरमा भव्य शोभा यात्रा आयोजना गर्ने भएको छ। शुक्रबार  माईस्थान मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा परिषद्ले अघिल्ला वर्षहरूको अनुभवलाई थप परिष्कृत गर्दै यसपटक कार्यक्रमलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने तयारी गरेको जनाएको छ।

परिषद्का अनुसार शोभा यात्रा दिउँसो २ बजे वीरगञ्जको घण्टाघरबाट सुरु हुनेछ। यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल हुँदै गहवा पुगेर पुनः घण्टाघरमै आएर समापन हुनेछ।

यस ऐतिहासिक धार्मिक यात्रामा वीरगञ्ज महानगरपालिकाका सबै वडाबाट व्यापक सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार करिब ३० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ भने कार्यक्रमलाई व्यवस्थित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिनेछ।

शोभा यात्राको सुरक्षा र व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरिसकिएको छ। साथै विभिन्न हिन्दू संघसंस्था र धार्मिक संस्थाहरूको समेत सक्रिय सहकार्य रहने बताइएको छ।

गर्मी मौसमलाई ध्यानमा राख्दै यात्राका विभिन्न स्थानहरूमा खानेपानीको व्यवस्था गरिनेछ, जसले सहभागी भक्तजनलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

यसै सन्दर्भमा आयोजित कार्यक्रममा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा संघका कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू कन्हिया पटेल, राजु बैठा, अभिलाष गुप्ता, राकेश साह, अनिल ओझा, सञ्जय कुशवाहालगायत संघका पदाधिकारीहरू तथा विश्व हिन्दू परिषद्का पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन हिन्दू पत्रकार संघका केन्द्रीय सचिव राज सराफले गर्नुभएको थियो।

परिषद्का सचिव दीपेन्द्र सरार्फले यस पावन अवसरमा आयोजना हुने कार्यक्रमको व्यापक प्रचारप्रसार गरी आम नागरिकसम्म सूचना पुर्‍याउन सञ्चारमाध्यमसँग सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.