वीरगञ्ज कपडा बैंकद्वारा कालिकामाइमा नि:शुल्क कम्बल वितरण

90

वीरगञ्ज, माघ १० । वीरगञ्ज कपडा बैंकले पर्सा जिल्लाको कालिकामाइ गाउँपालिका–४ मा नि:शुल्क कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। कालिकामाइ गाउँपालिका–४ स्थित परशुरामपुर बलुवा टोलका दलित तथा एकल महिलालाई लक्षित गरी २० थान कम्बल वितरण गरिएको वीरगञ्ज कपडा बैंकका सदस्य एवं युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिनुभयो।

उक्त कम्बल वीरगञ्ज कपडा बैंकका सल्लाहकार तथा समाजसेवी राजेश बर्णवालको सहयोगमा उपलब्ध गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि कालिकामाइ गाउँपालिका–४ का वडा अध्यक्ष संजय कुमार साहले दिनदुखी, असहाय तथा विपन्न वर्गको सेवा र सहयोगमा सबैले सक्दो योगदान गर्नुपर्ने बताउँदै “सेवा नै सर्वोत्तम धर्म हो” भन्ने भावनाका साथ मानवताको मर्मअनुसार सेवा कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो। साथै, वीरगञ्जदेखि आएर भए पनि निःस्वार्थ रूपमा सहयोग पुर्‍याएको भन्दै उहाँले वीरगञ्ज कपडा बैंकको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न उक्त निःशुल्क कम्बल वितरण कार्यक्रममा अतिथि रूपमा स्थानीय समाजसेवी सिकन्दर देवान, बैंकका सदस्य एवं युवा समाजसेवी केदार गुप्ता लगायत स्थानीय अग्रज, युवा तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बिना कोही पनि नाङ्गो नहोस् भन्ने उद्देश्यका साथ विगत सात वर्षदेखि दाताबाट संकलन गरिएका कपडा तथा सामग्री दिनदुखी, असहाय र विपन्न वर्गलाई निःशुल्क वितरण गर्दै आइरहेको जानकारी दिनुभयो। आजको कम्बल सहयोग उपलब्ध गराइदिनु भएको सल्लाहकार समाजसेवी राजेश बर्णवालप्रति आभार व्यक्त गर्दै उहाँले मानवीय सेवामा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

Leave A Reply

Your email address will not be published.