वीरगञ्ज महानगरपालिकामा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर प्रक्रिया सुरु
आगामी आर्थिक वर्ष भित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर प्रक्रिया सुरु गरिने खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्।
साउन महिनाभित्र टेण्डर प्रक्रिया सुरु गर्ने सहमति व्यक्त गर्दै, आगामी दिनमा कार्यान्वयनमा देखिने ढिलाइ र अन्य समस्या नआउने प्रतिबद्धता जनाएका छन्।
सोमबार खानेपानी मन्त्रालयमा आयोजित विशेष छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैंक ९ब्म्द्य० को ऋण सहयोगमा सञ्चालन गरिने १२ मध्ये पहिलो चरणमा कम्तीमा ६ वटा आयोजनाको निर्माण कार्य सुरु गरिने स्पष्ट पारे।
मन्त्री यादवले भने, “ब्म्द्य को ऋण सहयोगमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर प्रक्रिया अघि बढाउने छौँ। यसका लागि सम्बद्ध निकायबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाइनेछ।”
उनले वीरगञ्जका नागरिकको जीवनस्तर उकास्न खानेपानी र ढल व्यवस्थापनमा ठोस पहल आवश्यक रहेको उल्लेख गर्दै खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका र अन्य सरोकारवालाहरूको संयुक्त प्रयासबाट सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल लगायत उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।