वीरगञ्ज–११ घटनामा दोषीमाथि कारवाही गर्ने सर्वदलीय निर्णय, हेट स्पिचविरुद्ध कडाइ

44

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा गत २०८२ मंसिर १० गते बेलुकी भएको घटनाका सम्बन्धमा दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको छ। सरोकारवालाहरूको बैठकले घटनाबाट प्रभावित पीडित पक्षले जाहेरी दिएपछि स्थानीय प्रशासनले आवश्यक कानुनी प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय गरेको हो।

बैठकले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन धार्मिक तथा सामाजिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति जनाएको छ।

त्यसैगरी, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने तथा सामाजिक सञ्जालमा भाइरल बनाउने, हेट स्पिच फैलाउने कार्य गर्नेलाई साइबर कानून तथा प्रचलित कानून बमोजिम तत्काल कारवाहीको दायरामा ल्याइने निर्णय गरिएको छ।

आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बैठकमा उपस्थित सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरू एवं जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था/निकायबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकको निष्कर्षले शान्ति, सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

Leave A Reply

Your email address will not be published.